तीन सातापछि माथिल्लो मर्स्याङ्दीको विद्युत उत्पादन सुरु हुने

भिडियो हेर्न तल को बिज्ञापन लाइ हटाउनुहोस

लमजुङमा रहेको माथिल्लो मर्स्याङ्दी जलविद्युत आयोजना (५० मेगावाट) ले आगामी सेप्टेम्बर २६ देखि बिजुली उत्पादन सुरु गर्ने भएको छ।
 
चिनियाँ कम्पनी सिनो हाइड्रो र नेपाली कम्पनी सगरमाथा पावर प्राइभेट लिमिटेडको संयुक्त लगानीमा बनेको सो आयोजनाले निर्धारित समयभन्दा छ महिना ढिला गरेर बिजुली उत्पादन गर्न लागेको हो। 
 
‘अहिले विद्युत प्राधिकरणले गर्नुपर्ने आवश्यक परीक्षण गरिरहेको छ,’ सिनो हाइड्रो सगरमाथा पावर कम्पनीका जनसम्पर्क अधिकृत इन्जिनियर कर्ण अधिकारीले सेतोपाटीलाई भने, ‘२६ सेप्टेम्बरबाट हामीले व्यवसायिक रूपमा उत्पादन गर्ने योजना बनाएका छौं।’
 
उनले लमजुङको भुलभुले र बाहुनडाँडामा रहेको ड्याम, त्यहाँदेखि करिब पाँच किलोमिटर लामो टनेल भुलभुले २ मा रहेको पावर हाउस निर्माणको सबै काम सकिएको बताए। 
‘सुरुमा एक युनिट (२५ मेगावाट)ले बिजुली उतपादन हुन्छ,’ अधिकारीले भने ‘दुई तीन महिनापछि अर्को पुरै क्षमतामा बिजुली उत्पादन हुन्छ।’
 
उनले भूकम्प र नाकाबन्दीका कारण आयोजनाको उत्पादन ढिला भएको बताए। ढिला भएर पनि छिटो काम सक्ने यो पहिलो ठूलो आयोजना बनेको छ।
 
यसअघि इलामको माइक्यास्केट (७ मेगावाट) र सानीमा माइ (२० मेगावाट) आयोजनाले भूकम्पपछि काम सकेर बिजुली उत्पादन गर्न थालिसकेका छन्।
 
‘भूकम्पले हाम्रो आयोजनामा कुनै क्षति भएन तर कामदार र सामानको अभाव सिर्जना भयो,’ अधिकारीले भने, ‘कामदार घर गए, खासाको बाटो बन्द भएपछि सामान ल्याउन कठीन भयो।’
 
गत वर्ष संविधान जारी भएपछि भारतले गरेको नाकाबन्दीले इन्धन अभाव भएपछि काममा अवरोध भएर छ महिना समय लम्ब्याउनु परेको अधिकारीले बताए।
 
माथिल्लो मर्स्याङ्दीको ५० मेगावाट थपिएसँगै यो वर्ष हिउँदमा लोडसेडिङमा केही राहत मिल्ने प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक मुकेशराज काफ्लेले बताए। ‘भूकम्पपछि काम सक्ने यो ठूलो आयोजना हो। डिसेम्बरसम्ममा यसका दुबै युनिटले काम गरे भने यो हिउँदमा लोडसेडिङमा राहत हुन्छ’ काफ्लेले भने।
 
करिब १६ अर्ब लगानीमा बनेको सो आयोजनामा सिनो हाइड्रोको नब्बे प्रतिशत र सगरमाथा पावर कम्पनीको १० प्रतिशत सेयर छ। बुट मोडलमा बनेको यो आयोजना ३० वर्षमा नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण गरिनेछ।  प्रति युनिट ५.५९७ सेन्टमा यो आयोजनाको पिपिए गरेको प्राधिकरण प्रमुख काफ्लेले जानकारी दिए।

भिडियो हेर्न तल को बिज्ञापन लाइ हटाउनुहोस

SHARE

About news khabar

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment